advertiesment

अन्नपूर्ण पदयात्रामा ओइरिए पर्यटक

Annapurna-Base-camp--5a5586c661b594.96707682

पोखरा : अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको संख्या सन् २०१७ मा ‘रेकर्ड ब्रेक’ भएको छ। विश्वकै उत्कृष्टअन्तर्गत पर्ने अन्नपूर्ण पदयात्रा क्षेत्रमा अहिलेसम्मको धेरै एक लाख ५८ हजार पाँच सय ७८ पर्यटकले पदयात्रा गरेका हुन्। यो संख्या सन् २०१६ को तुलनामा ३८ दशमलव ८८ प्रतिशतले बढी हो।

गत वर्ष सन् २०१६ मा अन्नपूर्ण पदयात्रा क्षेत्रमा एक लाख १४ हजार एक सय आठ पर्यटकले पदयात्रा गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापकी पर्यटन अधिकृत रश्मि आचार्यले जानकारी दिइन्। भूकम्पअघिको वर्ष सन् २०१४ मा एक लाख २९ हजार ६ सय २४ जना र भूकम्पपछिको वर्ष सन् २०१५ मा पर्यटकको संख्या घटेर ७८ हजार ९ सय ३० जना पर्यटकले अन्नपूर्ण पदयात्रा क्षेत्रमा पदयात्रा गरेका थिए।

प्रारम्भिक तथ्यांकअनुसार सन् २०१७ मा अन्नपूर्ण पदयात्रामा सबैभन्दा धेरै ३३ हजार दुई सय १५ जना भारतीय पर्यटकले पदयात्रा गरेका छन्। दोस्रो नम्बरमा ११ हजार दुई सय ६ जना चिनियाँ पर्यटकले पदयात्रा गरेको आचार्यले जानकारी दिइन्। यसअघि यस क्षेत्रमा पुग्ने पर्यटकमा अमेरिकन पर्यटक दोस्रो नम्बरमा थिए। तर सन् २०१७ मा घटेर पाँचाँै नम्बरमा झरेको एक्यापको तथ्यांक छ।

एक्याप क्षेत्रमा मोटरबाटो निर्माण भएपछि पर्यटक आगमन बढे पनि उनीहरूले गर्ने खर्च भने घटेको छ।

सन् २०१६ मा भारतीय पर्यटक १८ हजार एक सय ८८ आएका थिए। त्यसपछि अमेरिकन पर्यटक आठ हजार चार सय ९५ पर्यटकले एक्याप क्षेत्रमा पदयात्रा गरेका थिए। त्यस वर्ष चिनियाँ पर्यटकको संख्या आठ हजार ९० थियो। पछिल्लो समय विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने गरेका छन्। सन् २०१७ मा देशमै अहिलेसम्मको धेरै १० लाख ६० हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांक छ।

अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने सार्क मुलुकका पर्यटकलाई एक्यापले प्रतिव्यक्ति तीन सय रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ। अन्य देशका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ प्रवेश शुल्क लिन्छ। विश्वकै उत्कृष्ट १० पदयात्रा क्षेत्रभित्र पर्दै आएको एक्याप क्षेत्रमा पदयात्रा मार्ग हुँदै मोटरबाटो निर्माण भएपछि पर्यटक आगमन बढे पनि पर्यटकले पदयात्रामा गर्ने खर्च भने घटेको पर्यटन व्यवसायीले बताएका छन्।

सडक निमार्णसँगै २१ दिनको अन्नपूर्ण चक्रीय पदयात्रा (बेसीसहर, ताल, चामे, मनाङ, थोरङ भन्ज्याङ हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम, मार्फा, तातोपानी, घोरेपानी हुँदै पोखरासम्मको) घटेर ५÷६ दिनमा झरेपछि पर्यटकले पदयात्रामा गर्ने खर्च पनि घटेको हो। पदयात्रा अवधि छोटिएसँगै यस क्षेत्रका स्थानीयको आम्दानी पनि घटेको छ।

पछिल्लो समय मुस्ताङको मुक्तिनाथभन्दा माथि बस्ती नै नभएको क्षेत्र थोरङ फेदीतर्फ र तिलिचो तालको पदयात्रा क्षेत्रमा समेत सडक विस्तार भएको भन्दै व्यवसायीले अन्नपूर्ण पदायत्राको भविष्य थप संकटमा पर्दै गएको बताएका छन्। पहिले लामो पदयात्रा गरेर थाकेका पर्यटक केही दिन मुक्तिनाथमा बिताएर जाने गर्थे। सडक विस्तारसँगै पर्यटकको बसाइ घटेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one