advertiesment

अर्गानिक खेतीबाट वार्षिक ४२ लाख आम्दानी

Organic_kheti-59239fd860c293.67932238

धरान : परम्परागत अर्गानिक तरकारीखेतीबाट वार्षिक ४२ लाख आम्दानी गरेर धरान उपमहानगरपालिका–४ बसन्तटारका कृष्ण राई जिल्लाकै अगुवा किसानको पहिचान बनाउन सफल हुनुभएको छ । २०५५ सालमा सुरु गरेको तरकारीखेती हाल आएर सोताङ अर्गानिक एग्रिकल्चर रिसर्च सेन्टर नामक कृषि फर्ममा परिणत भइसकेको छ ।

राईले अर्गानिक तरकारीखेती र पशुपालनबाट राम्रो आम्दानी गर्न थालेपछि धरान बसन्तपुरको सिंगो बस्ती यतिबेला अर्गानिक तरकारीखेतीतर्फ आकर्षित भएको छ । बसन्तपुरका अगुवा किसान राईले ४२ कठ्ठा जमिनमा लगाएको तरकारी र गाईको दूध बिक्री गरेर मासिक तीन लाख ५० हजार रुपैयाँ कमाउने बताउनुभयो । ‘पैसा कमाउन विदेश जानुपर्ने र सरकारी जागिर नै खानु पर्छ भन्ने छैन’, राईले भन्नुभयो, ‘मेहनत गरे कृषि पेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’

सिजन अनुसारको अर्गानिक तरकारीखेती गरेर राम्रो आम्दानी हुन थालेपछि धरान ४ बसन्तटारका किसान राईले सिंगो गाउँमा नै अर्गानिकखेती लगाउने अभियान सुरु गर्नुभएको हो । धरान बजारभन्दा दुई किलोमिटर टाढा रहेको बसन्तटारमा अर्गानिक तरकारी उत्पादन हुन थालेपछि धरानका उपभोक्ता तरकारी खरिदका लागि बसन्तटार जाने गरेका छन् । राईले आफ्नो ४२ कठ्ठा जमिनमा सिजनेबल अर्गानिक तरकारी उत्पादन गरी बिक्री–वितरण गर्ने गर्नुहुन्छ । वर्षायाममा घिरौला, लौका, सिमी, बोडी, झिगनी, भिन्डी, सागलगायत तरकारी तथा फलपूmल उत्पादन गर्ने गरेको र हिउँदमा काउली, बन्दा, क्याप्सिकम, मुला, गाजर, लसुन, प्याज, धनिया र साग उत्पादन गरी बिक्री गर्ने राईले बताउनुभयो ।

रासायनिक मल र विषादी निषेध गरी अर्गानिक तरकारीखेती थालेका राईले सातवटा गाई, २३ वटा बंगुर, र एक सयभन्दा बढी कुखुरा पाल्नुभएको छ । बंगुर र गाईको मलमुत्रबाट तरकारी उत्पादन राम्रो भएको छ । गाईको दूध धरानमा ८० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको छ भने बंगुर ठूलो भएपछि प्रतिगोटा ३० देखि ४० हजारसम्म पर्ने राईले बताउनुभयो । घरका दुई जनाले सुरु गरेको अर्गानिकखेतीमा अहिले चार जनाले रोजगार पाएका छन् ।

विषादी र रासायनिक मल प्रयोग गरी उत्पादन गरेको तरकारीले वातावरण प्रदुषित गर्नुका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले आफूले अर्गानिक तरकारीखेती सुरु गरेको राईको भनाइ छ । २०६२ सालदेखि सुरु भएको अर्गानिकखेती हाल आएर एक सय ५० घरपरिवारले व्यावसायिक रूपमा गरिरहेका छन् । हाल बसन्तपुरको ३० हेक्टर जमिनमा स्थानीयले तरकारीखेती सुरु गरेको राईको भनाइ छ । उहाँले सरकारले सहुलियत दरमा ऋण प्रदान गर्न सके विदेश पलायन हुने हजारौं युवा कृषि पेसातर्फ आकर्षित हुने उहाँको सुझाव छ ।

राईले कृषि कार्यालयले दक्ष प्राविधिक नपठाउँदा उत्पादन सोचेजस्तो नभएको गुनासो गर्नुभयो । उद्योग वाणिज्य संघ धरानका पूर्वसचिव गोपाल श्रेष्ठले किसान राईको तरकारीखेतीको आम्दानी देखेर उच्च प्रशंसा गर्दै सरकारले कृषिमा अनुदान दिएर किसानको आम्दानी बढाउन सरकारलाई सुझाव दिनुभयो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one