advertiesment

अस्थायी शिक्षकको परीक्षा अनिश्चित

shikhak-599e31480a9020.59258113

काठमाडौं: नुवाकोटका डिल्ली दनै शिक्षक सेवा आयोगले भदौ ३ गतेका लागि तय गरेको आन्तरिक प्रतिस्पर्धाको तयारी गर्न साउन दोस्रो साता राजधानी आए। परीक्षा १० गते सर्याे। स्कुलमा वर्षे बिदा भए पनि खेतीपाती छाडेर आएका उनी १० गतेको परीक्षासमेत अनिश्चितकालका लागि स्थगन भएपछि छाँगाबाट खसेजस्ता भए।

‘सारा काम छाडी राजधानी आएर परीक्षाको तयारी गरियो। दुई दिनअघि मात्र स्थगन सूचना आउँदा अब परीक्षा हुनेमै शंका लाग्न थाल्यो। अहिले गरेको मिहिनेत खेर जालाजस्तो छ’, दनै गुनासो गर्छन्।

लामो समयदेखि अस्थायी दरबन्दीमा कार्यरत शिक्षकका समस्या समाधान गर्न आयोगले लिने आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दनैजस्ता धेरै शिक्षक राजधानी आएका थिए। उपत्यका बाहिरका जिल्लामा क्षेत्रीय सदरमुकाममा तयारी गरिरहेका शिक्षक पनि यसैगरी निरास भएका छन्। हुम्ला, जुम्लालगायत जिल्लाबाट नेपालगन्ज आएर तयारी गरिरहेका शिक्षक त फेरि परीक्षा मिति तय भयो भने आउन सकिने/नसकिने दोधारमा छन्।

परीक्षा अनिश्चित हुँदा तयारी गरिरहेका शिक्षकको हजाराै‌ रुपैयाँ खेर गएको मात्र छैन, आयोगलाई समेत आर्थिक भार परिरहेको छ।
किन भयो स्थगन ?

शिक्षा ऐनको आठौं संशोधनमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने र यस्तो प्रतिस्पर्धा नगर्ने शिक्षकलाई सेवा अवधि गणना गरेर उपदान दिने व्यवस्था गरिएको छ। यो प्रावधानप्रति असन्तुष्ट केही अस्थायी शिक्षकले परीक्षामा असफल भए पनि सेवा सुविधा दिएर बिदाइ गर्नुपर्ने भन्दै आमरण अनशन गरे।

अनशनका कारण शिक्षा मन्त्रालयले भदौ ३ गतेको परीक्षा स्थगन गर्याे। तर, तराईमा आएको बाढीले परिस्थिति असहज भएको बहानामा मन्त्रालयले आयोगलाई परीक्षा स्थगन गर्न सुझाव दियो। यसै बेला उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उनीहरूको माग समेटेर शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव संसद्मा गरे। संशोधन प्रस्तावको टुंगो लाग्न समय लाग्ने भएपछि १० गते पनि परीक्षा हुन नसक्नेमा मन्त्रालयका अधिकारी ढुक्क थिए।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ५ गते अविरल वर्षाबाट देशको असहज परिस्थिति कायमै रहेको र राज्यले उद्धारमा लाग्नुपर्ने भएकाले असोज ८ गतेसम्म परीक्षा स्थगन गर्न आयोगलाई निर्देशन दियो। आयोगले भने अर्को सूचना प्रकाशन नभएसम्म परीक्षा स्थगन भएको जनाएको छ।
शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले जे भएको छ, एउटै उद्देश्य परीक्षा हुन नदिनु हो। जसले जे भने पनि अब अस्थायी शिक्षकको परीक्षा धेरै पर सरेको छ।’ प्रधानमन्त्री कार्यालयले असोज ८ गतेसम्म स्थगन गर्न भने पनि त्यसलगत्तै दसैं, तिहार र फेरि प्रदेश सभाको चुनाव हुने भएकाले परीक्षाको मिति अझै पर सर्ने निश्चितप्रायः छ।

आयोगले सूचनामा परीक्षाका आफूहरूले सम्पूर्ण तयारी गरिसकेको भए पनि प्रधानमन्त्री कार्यालयको पत्रका कारण परीक्षा स्थगन गराउनुपरेको भन्दै असन्तुष्टि जनाएको छ। आयोग अध्यक्ष ताना गौतमले भने, ‘धेरै वर्षपछि सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न लागेको थियो। तर, पटक-पटक परीक्षा सार्न पत्राचार हुन थालेपछि शंका उब्जेको छ।’

अस्थायी शिक्षकलाई व्यवस्थापनपछि खुला प्रतिस्पर्धामार्फत शिक्षण पेसामा आउने योजनामा रहेका ताजा विद्यार्थीलाई समेत धोका भएको छ। अहिले आयोगमार्फत शिक्षण लाइसेन्स लिएर बसेका विद्यार्थी सात लाख छन्। गौतमले भने, ‘धेरै शिक्षक पठनपाठन छाडेर परीक्षा तयारीमा थिए। उनीहरूले पनि धोका पाए। आयोगको तयारी पनि खेर गएको छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले अहिलेलाई परीक्षा स्थगन भए पनि अब जतिसक्यो छिटो सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताए। शिक्षकसंग सम्बन्धित संस्थाका प्रतिनिधीले पनि आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन चाहने १५ हजार शिक्षकका चाहनालाई पाखा लगाएर केही शिक्षकका माग पूरा गर्ने बहानामा परीक्षा स्थगन भएको भन्दै सरकारको विरोध गरिरहेका छन्।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one