advertiesment

आज नेपाल र भारत भिड्दै

NEP_vs_IND-593653920504d7.60400110

काठमाडौं : नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच मंगलबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । मैत्रीपूर्ण खेल मुम्बईको अन्धेरी स्पोटर्स स्टेडियममा साँझ खेलिनेछ । नेपालले भारतको अनुरोधमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारत अहिले एसिया कपको तयारीमा छ । नेपाली टोली पनि सन् २०१९ मा आयोजना हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताको तयारीमा रहेको छ ।

त्यसैले मैत्रीपूर्ण खेललाई दुवै टोलीले आफ्नो कमजोरी पत्ता लगाउने अवसरका रूपमा लिएका छन् । नेपाल र भारत डेढ वर्षपछि आमनेसामने हुन लागेका हुन् । नेपालले पछिल्लो पटक सन् २०१५ को डिसेम्बरमा भाएको दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले भारतलाई ४-१ गोलले हराउँदै स्वर्ण पदक जितेको थियो । त्यसअघिका भिडन्तमा भने नेपालको नतिजा कमजोर छ । फिफा वरीयतामा समेत भारत एक सयौं स्थानमा छ भने नेपाल एक सय ६९औं स्थानमा छ ।

सन् २०१५ मै एसिया कप र विश्वकप छनोटका लागि खेलिएको दुई खेलमा नेपाल समग्रमा २-० गोलले पराजित भएको थियो । घरेलु मैदानमा खेलिएको दोस्रो खेलमा भने नेपालले भारतलाई गोलरहित बराबरीका रोकेको थियो । नेपाल र भारतबीच सन् १९८५ देखि अन्तर्राष्ट्रिय खेल सुरु भएको हो । हालसम्म दुई टोलीबीच १८ वटा भिडन्त भएका छन् । उक्त भिडन्तमा भारतले १२ जित र नेपालले दुई जित हात पारेका छन् । चार खेल बराबरीमा सकिएका छन् ।
एक महिना तयारी गरेर भारत गएको नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजीले राम्रो खेल पस्कने दाबी गरेका छन् । भारतसँगको भिडन्तलाई नेपालले जेठ ३० गते यमनसँग खेल्न लागेको एसिया कप छनोट प्रतियोगिताको तयारी खेलको रूपमा सदुपयोग गर्ने लक्ष्य राखेको छ । नेपालले यमनसँग हल्चोकस्थित एपीएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

एसिया कप छनोट खेलमा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान रहेका छन् । नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो । उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको थियो । नेपालले फिलिपिन्ससँग अर्को खेल आगामी नोभेम्बरमा घरेलु मैदानमा खेल्नेछ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one