advertiesment

तीज गीतमा पुरुष

fursad-art-2-aug17,-2017-599796a7787fd8.06489803

‘हिरो जस्तै चिटिक्क बन्दा
मेरो राजा कम छैन कोइ भन्दा
मेरो राजा को भन्दा कम्ती छ
हातमा घडी सुनको अम्ठी छ’
शब्द ः पशुपति शर्मा
‘एक्लै नाच्न पर्‍यो भने नाच्ने जाँगर छैन
कान्छीसँग नाच्न पए ननाचेरै भइन
मायाले मरक्कै मर्काइदेउ कम्मर
तीजैको भाकैमा सलल’
शब्द ः भरत चँदारा, सुनिल बीसी

महिलाले स्वतन्त्रता सेलिब्रेट गर्ने पर्वको रूपमा लिइन्छ तीजलाई । उनीहरू खुलेर बोल्न पाउने, मनको कुरा खोल्न पाउने मौका हो तीज पर्व । तर, केही वर्षयता तीज गीतमा पुरुषको सहभागिता बढ्दै गएको पाइन्छ । यस वर्ष पनि अधिकांश गीतमा पुरुषको शब्द र स्वर रहेको छ । माथि उल्लिेखित केही तीज गीत त पुरुष सहभागिताका उदाहरणमात्र हुन् ।

समयसँग सामाजिक संरचना र मान्यताहरू पनि फेरिएका छन् । बदलिँदो समाजमा महिला-पुरुषको भूमिका वा उपस्थिति फेरिनु अस्वाभाविक होइन । तीज गीतमा पुरुष सहभागितालाई पनि सहज नै लिन सकिन्छ । बहसको विषय हो- पुरुष सहभागिता महिला मुद्दा उठाउन कत्तिको सहायक भएको छ ? यही प्रश्नसँगै जोडिएर आउँछ तीज गीतको सामाजिक महत्वव र यसको बदलिँदो स्वरूप ।

चुरे र महाभारत शृंखलाका बस्तीमा सिर्जना भएको चाड हो तीज । संस्कृतिविद्हरू यसलाई नेपालको पर्यावरणीय विशेषता र कृषिमा आधारित समाजको उत्पादन मान्छन् । धानखेती नै जीविकाको मुख्य स्रोत भएको समाजमा वर्षको एकपटक धान रोपिने पहाडी जीवनशैलीले नेपाली विशिष्टतायुक्त चाडबाड जन्माएको छ । त्यसैमध्ये एक हो तीज । धान रोपाइँपछि र धान खेतमा झार गोड्नुअघिको समयमा पर्छ तीज । खेतीपाती कम हुने भएकाले बुहारीले माइत जान पाउने, वर्ष दिनमा पुराना संगीहरूसँग भेट हुने, माइतीमा मीठो खाने र घर गर्दाका दुःख गीतमार्फत पोख्ने चाडका रूपमा विकास भएको हो तीज । समयक्रमसँगै तीज गीतका आयाम फेरिँदै गए । बुहार्तनका दुखेसोबाट समाज परिवर्तनका मुद्दासम्म तीज गीतले समेटे । तीसको दशकमा तीज गीतमा आएको प्रगतिशीलताले महिलाको सामाजिक संलग्नता दर्शाउँथ्यो ।

पछिल्लो दशकमा ह्वात्तै बढेको तीज गीतमा पुरुष सहभागिताले महिलाको मुद्दा उठाउन सहयोग गर्‍यो वा तीज गीतको मर्ममै प्रश्न खडा गरिदियो भन्ने बहसको विषय बनेको छ अहिले । यो प्रश्न किन पनि उठ्छ भने अधिकांश पुरुष रचित तीज गीतमा महिला-मुद्दा भन्दा पनि स्त्री अंगको वर्णन, सौन्दर्यको नाममा भद्दा मजाक र होच्याउने विषय समावेश भएको पाइन्छ । तीज गीत अहिले यौवनको आवेग पोख्ने बहानाबाजी बन्दै गइरहेको छ भन्दा अन्यथा नहोला ।
बजारमा बिक्ने गीत लेख्ने नाममा चल्तीका तीज गीतले नारी आवाजको प्रतिनिधित्व गर्र्न सकेका छैनन् । महिलाको चाड भनिएको तीजका गीतमा स्वरमा महिला नै देखिन्छन्, तर चलेको छ पुरुष शब्दको इशारा ।

गायिका हरिदेवी कोइरालाको शब्दमा त मौलिकता नै गुमाउँदै गएको छ तीज गीतले । तीज गीतमा महिलाका दुःखसुख र खुसीका विषयले कम प्राथमिकता पाउन थालेका छन् । सामाजिक विषय त अपवादमा मात्र भेटिन्छन् । कोइराला त आग्रह नै गर्छिन्, ‘अरू गीत त अरू बेलामा पनि गाउन सकिन्छ, तीजमा तीजकै गीत गाउनुस् न ।’

चलेका गायिका कोमल वली, सिन्धु मल्लका गीतमा समेत पुरुषकै शब्द छन् । शब्द र संगीत सिर्जना गर्ने सर्जकले हो । सर्जक महिला वा पुरुष जोसुकै हुनसक्छ । तर, तीजको मर्म महिला र समाज विषय समेट्नु हो । तर्क आउन सक्छ, पुरुषले महिलाकै विषयमा त लेखेका छन् । यही तर्क स्वीकार गर्ने हो भने भन्नुपर्ने हुन्छ, अझै पनि पुरुषको नजर महिलाका रूपरंगभन्दा माथि उठ्न सकेको छैन । महिलाको सामाजिक उपस्थिति, महिला सशक्तीकरण र सामयिक मुद्दा पनि महिलाकै विषय हो भनेर कहिले बुझ्ने हुन् पुरुष स्रष्टाले ? पुरुषले पनि महिला सशक्तीकरण र सामाजिक सन्देश बोकेको गीत लेखे पो तीजजस्तो लाग्नेथियो ।

गायिका चन्द्रकला शाह तीज गीतमा पुरुषको सहभागितालाई खराबै भन्दिनन् । भन्छिन्, ‘पुरुषले गाए पनि दाजुभाइ दिदीबहिनीको स्नेहभावको गीत गाउनुपर्छ, रत्यौली गाउने होइन ।’ त्यसो त गीतकार राजकुमार बगरले पनि तीज गीत लेखेका छन् । उनको विचारमा एउटा सर्जकले सबैको भावना बुझेर लेख्ने क्षमता राख्नुपर्छ । आफ्नो भोगाइमात्र लेखेर हुँदैन । समाजलाई नियालेर गीत लेख्ने बगर आफूले महिलाको विषयमा गीत लेख्दा न्याय गरेको दाबी गर्छन् । महिला सर्जक कम भएकाले पुरुषको संख्या बढी भएको उनको तर्क छ । भन्छन्, ‘महिलाका गीत लेख्नु पनि महिलाले लगाउने पहिरन, शृंगार सामग्री पुरुषले बनाएजस्तै हो ।’

लोकगीत अनुसन्धाता नविक खड्काका अनुसार तीज गीतमा पुरुष सहभागिता नेपाली लोक परम्परामा पर्दैन । ‘तीज, भैलिनी र रत्यौली पुरुषले गाउन मिल्दैन’, खड्काको तर्क छ । तीज गीत गाउने पुरुषहरूले चेली माइतीको गीत गाएको भन्ने तर्क गरे पनि माइतीको गीतको स्वाद खड्काले भेटेका छैनन् । भन्छन्, ‘उच्छृंखल शब्द गाएर, त्यस्तै पहिरन लगाएर युट्युबमा दर्शकको आँखा तान्ने र दुईचार पैसा कमाउनेबाहेक अरू केही उद्देश्य देखिँदैन ।’ तीज गीत सर्जकमा सामाजिक उत्तरदायित्व एकदमै न्यून भएको गुनासो छ उनको ।

मायाप्रेम, फेसबुक, मोबाइल, किनमेल बाहेकका गीत औंलामै गन्न सकिने उनको ठम्याइ छ । ‘पुरुष सहभागिता भए पनि बाबुले छोरीलाई दिएका ज्ञान, दाजुभाइले दिदीबहिनीसँग साट्ने भावना तीज गीतमा समेटिनुपर्छ’, खड्का भन्छन्, ‘आधुनिकतासँग ढालिएर जानुको अर्थ संस्कृति उल्ट्याउनु होइन ।’ उनी अहिले निस्केका गीतलाई तीज गीत भन्नु रातोलाई कालो भन्नु बराबार ठान्छन् ।

समयको परिवर्तनसँग चल्ने हो भने शिक्षा, चेतना, रोजगारीजस्ता विषयमा किन गीत बन्दैनन् ? समाजमा बोक्सीको आरोपमा, दाइजोको निहुँमा महिलामाथि दमन भइरहेका छन् । तीज गीतमा किन यस्ता विषयले ठाउँ पाउँदैनन् ? तीजमा सधैं वेदना पोख्नुपर्छ भन्ने पनि छैन । शृंगार, नाचगान, किनमेल तीजकै पक्ष हुन् तर तिनलाई प्रस्तुत गर्ने शैलीले महिलाको सम्मान गरेका छैनन् ।

श्रीमान् श्रीमती बीचको झगडा र प्रेमबारे पनि थुप्रै गीत बनेका छन् । एकअर्काको सहयात्री भएर त्यो सम्बन्धको महत्वव बुझाउने गीत विरलै भेटिन्छन् । महिला, पुरुष विपरीतार्थक नभई परिपूरक हुन् भन्ने भाव कहिले समेटिने हो तीज गीतमा ? बजारमा बिक्ने गीत लेख्ने नाममा चल्तीका तीज गीतले नारी आवाजको प्रतिनिधित्व गर्र्न सकेका छैनन् । महिलाको चाड भनिएको तीजका गीतमा स्वरमा महिला नै देखिन्छन्, तर चलेको छ पुरुष शब्दको इशारा ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one