advertiesment

थुनुवा पक्की घरमा, प्रहरी पालमा

national_trading-596432c432a4a9.61114303

काठमाडौं : भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको कार्यालय पुनर्निर्माण हुन सकेको छैन । काठमाडौं प्रहरी परिसरका प्रहरी यतिबेला जलमग्न ठाउँमा टेन्टमा काम गर्न र बस्न बाध्य छन् । अभियुक्त (थुनुवा) लाई भने पक्की घरमा राख्ने गरिएको छ ।
हनुमानढोकामा रहेको काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको कार्यालय वैशाख १२ को भूकम्पपछि टेकुस्थित साल्ट ट्रेडिङ लिमिटेडको जग्गामा सारिएको थियो । परिसर कार्यालय साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय भवनमा र महाशाखाको कार्यालय साल्ट ट्रेडिङले आफ्नो जग्गा लिजमा दिई बनेको पार्टी प्यालेसको एक छेउमा सरेको थियो । लामो समय बितिसक्दा पनि परिसर र महाशाखाले आफ्नै भवन पाउन सकेका छैनन्।

कार्यालय व्यवस्थापन हुन नसक्दा काठमाडौ परिसरमा प्रहरी-कर्मचारीको बिजोग छ । परिसरअन्तर्गत ८० भन्दा बढी प्रहरी-कर्मचारी टेन्टमा बनाइएको ब्यारेकमा बस्छन् । परिसरका केही डेस्क टेन्टबाटै सञ्चालित छन् । काठमाडौं प्रहरी परिसरमा करिब एक सय ५० जनाको दरबन्दी छ । वर्षा सुरु भएसँगै तनाव बढ्ने टेन्टमा बसिरहेका परिसरका एक जवानले बताए । ‘बरु अभियुक्तलाई बस्ने ठाउँ छ । हामी भद्रगोल पाराले टेन्टमा बस्नुपरेको छ’, ती जवानले भने । परिसरअन्तर्गत महिला, पुरुष र तेस्रोलिंगी गरी करिब एक सय ८० जना क्षमताको थुनुवाकक्ष छ ।

उता, महाशाखाअन्तर्गत सबै डेस्क टेन्टमा सञ्चालन भइरहेका छन् । महाशाखा प्रमुख बस्ने कोठासमेत टेन्टमै छ । केही प्रहरी-कर्मचारीको ब्यारेक टेन्टमै छ । ‘एकातर्फ टेन्टमा कार्यलय सञ्चालन गर्नुपरेको छ, अर्कोतर्फ पानी जमेर यतिबेला त्यही टेन्टसम्म पुग्न पनि गाह्रो छ’, महाशाखामा कार्यरत एक प्रहरी अधिकृतले भने ।

भूकम्पले भत्किएका कार्यालय भवन पुनर्निर्माण हुन नसक्दा काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको काम पालबाटै सञ्चालन भइरहेको छ ।
वर्षाका कारण महाशाखाको कार्यालयसामुन्ने पानी जमेर हिँड्नसमेत मुस्किल छ । प्रहरी मात्र होइन, सेवाग्राही पनि समस्यामा छन् । परिसर र अपराध महाशाखामा दिनहुँ सेवाग्राहीको घुइँचो देखिन्छ । ‘प्रहरीसँग बसेर कुरा गर्ने ठाउँ छैन । कुन कार्यालय कता हो मेसो पाइँदैन’, सोमबार परिसर कार्यालयमा पुगेका थापाथलीका उत्तम धितालले भन्नुभयो ।

काठमाडौं परिसरअन्तर्गत हाल रहेको ब्यारेकमा महिला प्रहरीका लागि छुट्टै व्यवस्था गरिएको छैन । साल्ट ट्रेडिङको प्रवेशद्वारनजिकै रहेको एउटा सानो कोठालाई महिला प्रहरीको ‘चेन्जिङ रुम’ बनाइएको छ । काठमाडौ प्रहरी प्रवक्ता एसपी प्रद्युम्न कार्कीले प्रहरी कर्मचारीले कठिन स्थितिबाट गुज्रिएर सेवा दिइरहनुपरेको बताउनुभयो । ‘ब्यारेकमा बस्ने प्रहरीलाई जाडोमा शीत चुहिएर र बर्खामा पानी रसाएर सुत्न बस्न समस्या छ । दिनभरि काम गर्ने प्रहरी बेलुका राम्रोसँग सुत्नसमेत पाउँदैनन्’, एसपी कार्कीले भन्नुभयो ।

जग्गा खरिद अलपत्र
अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको कार्यालयका लागि माइतीघर-भद्रकाली सडकखण्डमा रहेको खाद्य संस्थानको ३० रोपनी जग्गा खरिदका लागि प्रक्रिया अगाडि बढाइए पनि त्यो अलपत्र छ । जग्गाको मूल्य दुई अर्ब ९९ करोड २८ लाख १२ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो ।
जग्गा खरिदका लागि पहल गरिदिन काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाले गत वर्षको असोजमा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेका थिए । तर, यो प्रक्रिया अर्थ मन्त्रालयमा पुगेर अड्किएको बुझिएको छ । जग्गाको मूल्यका विषयमा अर्थ मन्त्रालय र खाद्य संस्थानबीच सहमति हुन नसकेको स्रोत बताउँछ । ‘जग्गाको मूल्यका विषयमा कुरा मिल्न सकेको छैन’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

भवन खाली गर्न पत्र
साल्ट ट्रेडिङले यथाशीघ्र भवन खाली गर्न काठमाडौं प्रहरी परिसर र अपराध महाशाखालाई पत्र लेखेको छ । भवन रहेको जग्गा नेपाल आयल निगमलाई बिक्री भइसकेको भन्दै ठाउँ खाली गरिदिन साल्ट ट्रेडिङले पत्राचार गरेको हो । जग्गा पूर्णरूपमा हस्तान्तरण भएपछि मात्र आयल निगमले पूरै पैसा दिने सर्त राखेकाले यथाशीघ्र ठाउँ छाडिदिन साल्ट ट्रेडिङले परिसर र महाशाखालाई आग्रह गरेको छ ।

पत्रमा छ, ‘जग्गा सम्पूर्ण रूपमा खाली नभई हस्तान्तरण नभएसम्मको अवधिका लागि निगमले धरौटीबापतको रकम लिमिटेडलाई भुक्तानी गर्न बाँकी छ । उक्त बाँकी रकम लिमिटेडको दायित्व तिर्न अत्यावश्यक भएकाले लिमिटेडको टेकुस्थित जग्गा सम्पूर्ण रूपमा खाली गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । अतः परिसर र महाशाखाबाट प्रयोग भएको घरजग्गा यथाशीघ्र खाली गरी सहयोग गरिदिनुहुन तथा उक्त अवधिको भाडा प्राप्त हुने व्यवस्थासमेत मिलाइदिनुहुन अनुरोध छ ।’

साल्ट ट्रेडिङले भवन खाली गर्न पहिलोपटक लिखित आग्रह गरेको हो । यसअघि दुईपटक भाडा तिर्न लिखित आग्रह गरेको थियो । भवन प्रयोग गरेबापत अहिलेसम्म परिसरले साल्ट ट्रेडिङलाई र महाशाखाले पार्टी प्यालेसलाई भाडा तिरेका छैनन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one