advertiesment

दम्पितले अस्पताललार्इ बनाइदिए चार करोडको भवन

BKT-Cancer-Hospital-2-58f58bc88d6300.68826688

भक्तपुर : काठमाडौं बागबजार निवासी ८९ वर्षीय चिनीकाजी श्रेष्ठ र उहाँकी श्रीमती शान्तिदेवी श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा करिब चार करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न गरिदिनुभएको छ । श्रेष्ठ दम्पतीले अस्पतालको स्मृति भवनको पहिलो र दोस्रो तला निर्माणसँगै लिफ्ट जडान गरिदिएको हो ।

भवनको पहिलो तलामा दुईवटा अत्याधुनिक अप्रेसन थिएटर, दोस्रो तलामा दुइटा सुपर डिलक्स कोठा र जनरल वार्ड छन् । निर्माण सम्पन्न भएको पहिलो र दोस्रो तलाको साँचो सोमबार एक समारोहबीच श्रेष्ठ दम्पतीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई हस्तान्तरण गरेको छ । दाता चिनीकाजी अक्सिजन साथमै बोकेर कार्यक्रममा सहभागी हुनुभएको थियो । नाकमा अक्सिजनको पाइप लिएर आउनुभएका श्रेष्ठ हिँडडुलसमेत गर्न सक्नुहुन्न । त्यसैले ह्विलचियरमा बसेर स्वास्थ्यमन्त्री थापालाई निर्माण सम्पन्न भएको तलाको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

ह्विलचियरमा बसेर आफ्नो सहयोगमा जडान भएको लिफ्टमार्फत तलमाथि गर्दै उहाँले आफ्नो सहयोगमा निर्माण पूरा भएको तलाको उद्घाटनस्वरूप स्वास्थ्यमन्त्री थापाले रिबन काटेको कार्यक्रममा साक्षी बन्नुभएको थियो । उहाँले आफ्नो सहयोगमा बनेको तलाको हरेक कोठाको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । उहाँलाई अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेले निर्माण सम्पन्न भएको पहिलो र दोस्रो तलाको हरेक कोठाबारे ब्रिफिङ गर्नुभएको थियो । डा. न्यौपानेले उक्त ब्रिफ्रिङ गरिरहँँदा दाता श्रेष्ठको मुहारमा सन्तुष्टि र खुसीले बेग्लै चमक देखिएको थियो । दाता श्रेष्ठको अनुहारको चमक देखेर आफूलाई पनि गौरव अनुभूति भएको डा. न्यौपानेले सुनाउनुभयो ।

‘दाता श्रेष्ठको चमकदार अनुहार देखेर उहाँ भित्रभित्रै गद्गद् हुनुभएको मैले प्रत्यक्ष अनुभूति गरेँ’, मेडिकल निर्देशक डा. न्यौपानले भन्नुभयो, ‘उहाँको सन्तुष्टिले मलाई गौरवान्वित महसुस गरायो ।’ कार्यक्रममा श्रेष्ठ परिवारबाट साँचो ग्रहण गर्दै स्वास्थ्यमन्त्री थापाले विनास्वार्थ परोपकार निम्ति सहयोग गर्ने श्रेष्ठ परिवारलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सरकार आफ्ना नागरिक कोही अस्वस्थ नहुन् भन्ने प्रयत्नमा लागिपरेको सुनाउनुभयो ।

‘सरकार पहिलो चरणमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा लागिपरेको छ’, स्वास्थ्यमन्त्री थापाले भन्नुभयो, ‘हामी सरकारी अस्पताल सुधारमा छौं । कतै परिणाम देखिएको छ ।’ उहाँले उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्न देशभर विशेषज्ञ सेवा विस्तार गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सरका लागि नेपालगन्ज, मुटुका लागि भेरी र मिर्गाैलाको कोसी अञ्चल अस्पतालको क्षमता विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ ।

कार्यक्रममा दाता श्रेष्ठकी छोरी प्रा. रीमादेवी श्रेष्ठले निर्माण सम्पन्न भएको पहिलो तलामा अप्रेसन थिएटरको सम्पूर्ण उपकरण जडान भएपछि मात्रै हस्तान्तरण गर्ने बुबाको इच्छा भए पनि स्वास्थ्य अवस्थाका कारण छिट्टै हस्तान्तरण गर्नुपरेको बताउनुभयो । उहाँले अस्पतालमा भवन निर्माण गरेपछि त्यसको सदुपयोग गर्न आर्थिक स्रोत जुटाउन बुबाकै इच्छाअनुसार दोस्रो तलामा दुइटा सुपर डिलक्स कोठा निर्माण गरिदिएको सुनाउनुभयो । ‘बुबाले सहयोग गरेबापत अस्पतालले उहाँमार्फत सिफारिस भएर आएका पाँच जनालाई प्रत्येक वर्ष निःशुल्क उपचार गर्नुपर्ने इच्छा व्यक्त गर्नुभएको छ’, छोरी रीमादेवीले भन्नुभयो, ‘बुबाको यस इच्छा पूरा गर्न अस्पताल प्रतिबद्ध हुने विश्वास लिएका छौं ।’

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले क्यान्सर उपचार महँगो भएकाले विपन्नलाई सरकारले दिने राहत पाँच लाख रुपैयाँ पुर्याउन माग गर्नुभयो । उहाँले अस्पताललाई लिनायक मेसिन उपलब्ध गराए निजी अस्पतालले भन्दा पाँच सय गुणा सस्तोमा क्यान्सर उपचार गर्ने जानकारी गराउनुभयो । अस्पतालले प्रत्येक दाताबाट एक÷एक लाख रुपैयाँ संकलन गरी स्मृति भवन निर्माण अघि बढाएको थियो । करिब ८० जनाबाट ८० लाख रुपैयाँ संकलन भएपछि उक्त भवनको पहिलो तला निर्माण गरिएको थियो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one