advertiesment

पराजितबाट त्रसित मानसिकता

manmohan-bhattarai

नेपालका राजनीतिक पात्र नेता या अभिनेता यो विचित्रको रंगमञ्चका पात्रजस्ता देखिएका छन् । यति भए हामीलाई स्वीकार्य, यो नहुँदा हामीलाई अस्वीकार्य, यतिसम्मको सम्झौता हुन सक्छ, योचाहिँ हुन सक्दैन, यी सबै यो र यति एउटा रहस्यको गर्भमा छन् । स्पष्ट भाषामा कुनै पनि नेता या राजनीतिक दल या बुद्धिजीवी या नागरिक समाज कोही केही पनि बोल्दैनन् । बोली सुन्दा कुनै दलको या अर्को कुनै शक्तिको प्रभावमा परेको स्पष्ट रूपमा देख्न सकिन्छ ।

मुलुकलाई चाहिएको राजनीतिक स्थिरता हो । त्यो कसरी प्राप्त हुन्छ, यसमा प्रमुख भनिएका दल र त्यसको नेतृत्व स्पष्ट धारणा राख्न सक्दैन । कोही संविधान संशोधन गर्नै हुँदैन भन्छन् भने कोही संशोधनको बाटो नलिई हुँदैन भन्छन् । कोही प्रस्ताव कस्तो आउँछ त्यसपछि हेरौंला भन्थे । अब प्रस्ताव आइसकेपछि संसद्ले नै टुंगो लगाउनुपर्ने विषयलाई सडकमा उतार्ने धम्की पनि दिन्छन् । धम्की र घुर्की यी दुवै पक्ष देखियो । नेपालको झन्डै ६ दसकको राजनीतिमा खेल कसले खेलिरहेको छ, यो बुझ्ने प्रयत्न राजनीतिको शीर्षस्थानमा पुगेका कसैले पनि खोजको विषयको रूपमा लिएनन् ।

पुस ८ किसुनजीको जन्म दिन । बाँडेगाउँस्थित आश्रममा जाँदा मुलुकमा भएको अत्यन्तै ठूलो परिवर्तन देख्न पाइयो । गाडीको लस्कर झन्डै तीन किलोमिटरसम्म फैलिएको थियो । सुरक्षाकर्मी ट्राफिक सबैलाई त्यो सम्हालि नसक्नु हम्मेहम्मेको स्थिति थियो । त्यो किसुनजीको उत्सव थियो, जहाँ केही पेन्टिङ पनि राखिएका थिए । पेन्टिङभित्र खोजेर हेर्दा एउटा ट्यांका, सुरही र छाता र किसुनजीको अर्धमुदित नयन देख्ने र बुझ्नेभन्दा पनि धेरै गाडीधनीहरूलाई लागेको हुनुपर्छ, किसुनजी असमयमा बित्नुभयो ।

यस्तो त नेपालले जन्माएका धेरै नेताका बारेमा हुन सक्छ । बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि यी सबै राजनीतिको प्रमुख आदर्श नै आदर्श र निष्ठाका अनुयायी थिए । आजको पुस्ताले त्यो सोच, व्यवहार र त्यो कार्यकुशलता देखाउन सकेको भने देखिँदैन । नेताका भाषण सुन्दा, छापामा पढ्दा सबैलाई मुलुकको राजनीति अस्थिर भएकोमा चिन्ता व्यक्त गरेको देखिन्छ, तर ठूला भनिएका दुई या तीन दलका बीचमा सत्ता साझेदारीबाहेकको अरू कुनै त्यस्तो सन्धिसम्झौता भएको पाइँदैन ।

साना दलका त कुरै छोडौं, संसद्भित्र एउटा दलको दुई या एक मात्रै प्रतिनिधि भएको स्थितिलाई पनि संसद्ले बेहोर्नुपरेकै छ । यसलाई संसदीय व्यवस्थाको कठोर अभ्यासकै रूपमा लिन सकिन्छ । कहिले एउटा दल या संयुक्त रूपमा उपस्थित दलका नेताहरू उभिएर संसद् अवरुद्ध गर्ने, कहिले बजेटै ल्याउन नदिने, कुनै बेला भने संविधान निर्माणको लागि लाचारी बोध, लज्जाबोध या जिम्मेवारीबोध होस् । त्यसबेला भने सबैले सही गर्नैपर्ने । यी विचित्रका घटनाक्रम आम नेपालीले बुझ्ने कसरी ?

हामी नेपालको इतिहासले कहिले नबेहोरेको एउटा दुखद् क्षणमा छौं यतिबेला । तीस वर्षको राजाको अधिनायकीय शासनलाई संवैधानिकमा फर्काउन धेरै दिन लागेन । त्यो ग्राह्य भएन, राजा त संवैधानिक भइसकेका थिए, मुलुकमा बहुदलीय लोकतन्त्र पनि स्थापित भएकै हो, क्रान्तिको बलमा । संविधान पनि जारी भएकै हो । निर्वाचन पनि तर्कसंगत प्रकृतिका साथ विश्वले स्वीकार गरेको मान्यताअनुरूप भएकै हो ।

०४८ सालको निर्वाचन र लगत्तै ०५१ मा भएको निर्वाचनपछि मुलुक एक प्रकृतिको अस्थिरतातिर डोरिएको या डोर्‌याइएकै हो । जनताको त्यो हदसम्मको अधिकारलाई अधिनायकवादी शक्ति तानाशाहीमा विश्वास गर्ने शक्ति र जनतालाई निर्णायक हुनबाट रोक्ने बाह्य शक्ति सबैको प्रपञ्चसँगै मुलुकले कलिला उमेरकादेखि वृद्धवृद्धासम्मका बीस हजार मान्छे गुमाउनुपरेकै हो । यसलाई जति ढाकछोप गरे पनि पुग्दैन ।

अबको समस्या राजनीतिक दलहरूका आफ्नो वचनबद्धता, प्रतिबद्धता र जनतासित सधैं सँगै रहने ओठे कुरा जनताबाटै अब अस्वीकृत हुन थालेपछि कुनै दल राजाको वक्तव्यलाई लिएर भएभीत भएका या एउटा बुख्याचा खडा गरेर आफ्नो अस्तित्वबोधलाई निश्चित गर्न चाहन्छन् । झन्डैझन्डै सबैलाई कतै न कतैको कुनै न कुनै प्रकृतिको त्रास देखाएर नेपाल र नेपालीलाई कजाउने यो व्यवहार जनताका माझबाट विस्फोट भयो भने त्यो कसैले सम्हालिन सक्ने परिस्थितिको अवस्था हुन सक्छ ।

न पूर्वराजाले गणतन्त्र मेट्न सक्छन् न त कुनै छिमेकीले नेपाली देशभक्तिमाथि कुनै प्रकृतिको हमला गर्न सक्छ । शासक त हामीकहाँ पनि नौ महिना वर्ष दिनमा फेरिन्छन्, जनताको शक्तिले अरू मुलुकमा पनि शासकहरू फेरि नै रहन्छन् । कुनै शासकले आज लिएको नीतिले अनन्तसम्म काम गर्छ भन्ने सोच हिजोका साम्राज्यवादी या औपनिवेशिक सोचबाट ग्रसितबाट मात्र हुन सक्छ, अन्यथा त्यसको सम्भावना देखिँदैन ।

त्यसकारण लाग्छ, एकअर्काबाट भयभीत हुनुको साटो आफैंबाट त्रसित भएर राष्ट्रिय सोचको निर्माण र राष्ट्रिय पहिचानको जगेर्ना गर्न सके मात्र सिंगो नेपालको हित हुन्छ । राजनीतिक दल कोभन्दा को क्रान्तिकारी भन्ने देखाउने क्रममा एकजना मधेसका नेताले नेपाल टुक्रिन्छ भन्नेसम्मको अभिव्यक्ति पनि दिए । नेपाल टुक्रिन्छ भन्ने अभिव्यक्तिका पक्षमा उनको क्रान्तिकारिता धेरै बिकेको भने देखिएन ।

त्यो कुरो उनले आफ्नै चुनाव क्षेत्र भएको आफ्नै जिल्लामा आम जनताको रुचि बनाउन सके भने पनि हामीले जिल्लास्तरीय नेताका रूपमा स्वीकार गर्नैपर्ने हुन्छ । उनको क्षेत्र, जिल्ला र त्यसभन्दा पर अन्यत्र कुनै पनि समाजमा त्यसले कुनै प्रकृतिको तरंग ल्याउन भने सकेको छैन । नेता पनि हुन चाहने जनताको स्पन्दन बुझ्न नसक्नेहरूले यसरी काल्पनिक अर्थका विज्ञप्ति जारी गर्दै आफू जनताबाट पर हुनुको साटो राजनीतिबाट नै पर हुनु उचित हुन्छ ।

किसुनजीको जन्मदिनको चर्चा त गरियो, तर त्यसभित्र उठेका नेताहरूको बोली, वाणी र वचन भने त्यहाँ उपस्थित हुनेलाई त्यति ग्राह्य भएजस्तो लाग्दैन । स्वीकार्य गरिएका सन्त नेता किसुनजीकै आ श्रम दलहरूको एकआपस्तको घोचपेच गर्ने मञ्चका रूपमा प्रयोग हुनु भनेको दुःखद् पक्ष नै हो । माथि पनि भन्यौं, राजनीतिको कतिपय विषय गतिशील छन्, मुलुकसापेक्ष राष्ट्र र राष्ट्रियतासँग देशभक्ति उजागर गर्दै लिइने नीति कुनै वादविशेषले निर्धारण गर्दैन ।

अहिले भने राजनीतिमा ती दुईटा शब्दको अर्थ नै हरायो र तेस्रो शब्द कुनै दलसित अहिले कुनै वाद छैन । वादविहीन, नीतिविहीन र नेतृत्वविहीन राजनीतिक दलहरूबाट अपेक्षा नै जनताले के गरून् । त्यसैले दलहरू आफ्नो शक्ति आफूले ल्याएको परिवर्तनप्रति इमानदार हुनुको साटो दुस्मनको हमलाबाट म कसरी बच्न सक्छु भन्ने चिन्तामै व्यस्त छन् । दुस्मन को हो भन्ने पहिचान अहिलेसम्म गर्न सकेको भने देखिएको छैन । आँट हुने, आफ्नो आस्थाप्रति विश्वास हुने र त्यसैप्रति निष्ठाभावले काम गर्ने कोही पनि व्यक्तिले स्पष्ट भाषामा अस्थिरताको कारण देखाउन सकेका छैनन् ।

हिजो गरेका दोषबाट मुक्त हुन जनतामाझ विधि, विधान, संविधान यो सबै सच्याउन पनि सकिन्छ, तर सबभन्दा प्राथमिक कुरो आफ्नो चरित्र र चिन्तनलाई सच्याए भने मात्रै पनि मुलुकको सम्भावना निकै बढेर जाने आधारहरू छन् । पराजितहरूलाई नै सबभन्दा ठूलो शत्रुका रूपमा देख्नु भनेको आफ्नो दुर्बलता प्रकट गर्नुबाहेक केही पनि होइन ।

सबै यस अर्थमा भयभीत छन् कि कतै हाम्रो दसबर्से जनयुद्धले मुलुक अस्थिर भएको हो कि, कतै हामीले पहिलो निर्वाचनको नतिजा अस्वीकार गर्दै मुलुकमा बबन्डर उठाएकै कारणले हो कि, कतै हामीले लोकतन्त्रको व्याख्या गर्ने क्रममा विदेशीलाई ग्राह्य नहुने संविधान निर्माण गरेको कारणले हो कि, कतै हामीले यति धेरै जनप्रतिनिधिले निर्माण गरेको संविधानलाई आफ्नो स्वार्थअनुकूल छैन भनेर विरोध गरेका कारणले हो कि, कतै हामीले क्रान्तिको उन्मादमा एउटा राष्ट्र बचाउनु भन्दा पनि क्षेत्रीयता, जातीयता, साम्प्रदायिकता र धार्मिकतालाई उचालेर गरेका हौं कि, नेपालका यी सबै प्रकृतिका कुनै पनि तहका नेतृत्वले आफूभित्र खोज्नुपर्ने विषय हो ।

यिनै प्रश्नभित्र कुनै पनि देशभक्त स्वाभिमानी राष्ट्रको चिन्ता गर्ने एउटा परिभाषाअन्तर्गतको राष्ट्रियताको चिन्ता गर्ने, पहिचानको चिन्ता गर्ने स्वाभाविक अर्थमा नेपाल हुँदा हामी के हुन्छौं, पराधीनतालाई स्वीकार गर्दा हामी के हुन्छौं भन्ने विषयमा घोत्लिने हरकोहीको अहिले सोच र चिन्ताको विषय यही नै हुनुपर्छ । देश अहिले विचित्रको, जीवनभर मुलुक बनाउँछौं भनेर लागेका, त्यसको लागि जेल बसेका, संघर्ष गरेका, परिवारबाट अलग हुने पीडामा बसेका या परिवारको सुख नै पाउन नभ्याएकाहरूलाई अहिले गिज्याउने अवस्थामा बस्नुपरेको छ ।

यो किन भयो भन्ने जुनसुकै उचाइका किन नहोऊन्, सबै राजनीतिकर्मीले सोच्नुपर्ने बेला हो । राष्ट्रलाई केन्द्रमा राख्ने हो भने हिजो गरेका दोषबाट मुक्त हुन जनतामाझ विधि, विधान, संविधान यो सबै सच्याउन पनि सकिन्छ, तर सबभन्दा प्राथमिक कुरो । आफ्नो चरित्र र चिन्तनलाई सच्याए भने मात्रै पनि मुलुकको सम्भावना निकै बढेर जाने आधार छन् पराजितहरूलाई नै सबभन्दा ठूलो शत्रुका रूपमा देख्नु भनेको आफ्नो दुर्बलता प्रकट गर्नुबाहेक अरू केही पनि होइन ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one