advertiesment

प्रहरीको नयाँ भर्ना प्रक्रियामा नक्कली परीक्षार्थी

police-5965c3761d37e6.31184899

विराटनगर: नेपाल प्रहरीको नयाँ भर्ना प्रक्रियामा नक्कली परीक्षार्थी भेटिएका छन् । सुरक्षा जस्तो संवेदनशील निकाय प्रहरीमा जागिर खानका लागि तीन जना नक्कली परीक्षार्थीहरु भेटिएका हुन् ।

नक्कली परीक्षार्थीको सहयोग लिएर प्रहरीमा भर्ना हुने प्रयास गर्दै गर्दा तीन जना विराटनगरबाट पक्राउ परेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराईले जानकारी दिनुभयो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका २० का २१ वर्षीय आरबी राई, १९ वर्षीय अक्षयकुमार राई र २७ वर्षीय आनन्द राईलाई पक्राउ गरेको छ ।

प्रहरी जवान पदका लागि दरखास्त दिएका अक्षयकुमारको स्थानमा परीक्षा दिन आएका आरबी र आरबीको स्थानमा परीक्षा दिएका आनन्दलाई पक्राउ गरिएको डीआईजी भट्राईले बताउनु भयो । उहाँका अनुसार अक्षयकुमार र आरबी दुबै जनाले प्रहरी जवान पदमा भर्ना हुनका लागि आवेदन दिएका थिए । अक्षयकुमारको आवेदन दर्ता नम्बर ५६७ र आरबीको २३७ हो ।

आरबीलाई अक्षयकुमारको ५६७ दर्ता नम्बरमा परीक्षा केन्द्रमा प्रवेश गरी परीक्षाको पहिलो चरणको विभिन्न विधाहरुमा सहभागी हुँदै गर्दा पक्राउ गरिएको हो । अक्षयकुमारलाई भने प्रहरीले परीक्षा केन्द्र बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । दुई जनालाई पक्राउ गरेपछि आरबीको २३७ दर्ता नम्बरमा भने सोमबार नै परीक्षामा सहभागी भएर आनन्दले परीक्षा दिइसकेको खुलेपछि आनन्दलाई पनि धरान स्थित आफ्नै घरबाट पक्राउ गरिएको डीआईजी भट्राईले बताउनु भयो । पक्राउ परेका तीनै जना नातामा दाजुभाई पर्छन् ।

शारीरिक रुपमा कमजोर रहेको र परीक्षामा उत्तिर्ण हुन नसक्ने भएका कारण आफू परीक्षा स्थल बाहिर बसेर दाजुलाई परीक्षा दिन लगाएको बयान अक्षयले प्रहरीलाई बयान दिएका छन् । आरबीलाई परीक्षा दिन लगाएर उनी भने बाहिर बसेको गोप्य सूचना आएपछि क्षेत्रीय अनुसन्धान समूहले उनीहरुमाथि निगरानी बढाएको थियो । आरबीले भने आफूले भाईको परीक्षा दिनु पर्ने भएपछि आफ्नो परीक्षा भने नातामा दाजु पर्ने आनन्दलाई दिन लगाएको बयान दिएका छन् ।

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा केही दिनदेखि प्रहरी जवान पदका लागि भर्ना छनौट परीक्षा भइरहेको छ । निर्वाचनका कारण केही पछि धकेलिएको परीक्षा दोस्रो चरणको स्थानीय निर्वाचन सकिएपछि सुरु भएको थियो । प्रहरीमा भर्ना लिनका लागि आगामी दिनमा पनि कार्यहरु हुन सक्ने भएकाले राम्रोसंग ‘भेरिफिकेसन’ गरेर मात्र परीक्षा लिइने डीआईजी भट्राईले बताउनु भयो ।

‘प्रहरीमा जागिर खानका लागि अर्कैलाई आफ्नो परीक्षा दिन लगाउने र अर्काको परीक्षा दिन जाने हिम्मत पनि ठूलै हो,’ उहाँले भन्नु भयो, ‘अरु पनि यस्ता परीक्षार्थी हुन सक्ने आशंकामा प्रहरी भर्ना प्रक्रियामा थप कडाई गरिएको छ ।’

प्रहरीमा भर्नामा नक्कली परीक्षार्थी फेला परेको घटना अनौठो र नौलो भएको भन्दै उहाँले यसले छनौट प्रक्रियालाई संवेदनशील बनाएको बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one