advertiesment

फेवा किनारमा तीन देशका कवि

Pokhara_Kavya-Sangam-Pkr-59b61ff7c7a4b1.56014508

पोखरा : रेडियो खर्साङकी समाचारकर्मी उषाकिरण राईले सुरुमै आफ्नो गाउँठाउँको खबर सुनाइन््, ‘दार्जिलिङ अहिले जलिरहेको छ । एकछिन शान्त हुन्छ, फेरि जल्छ ।’ उनकै भनाइमा दार्जिलिङ तीन ‘टी’ले चिनिन्छ—टुरिजम, टी र ट्रेन । तर अहिले आन्दोलनको आगोले दार्जिलिङ सेकेको छ । यही भूमिका बाँधेर उनले कविता सुनाइन्—लेट्स ह्याभ अ दार्जिलिङ टी ।

सो अवसरमा बंगलाभाषी देवरति भट्टाचार्यले चाहिँ बंगालीभाषाकै कविता सुनाइन् । भारतीय कवि भूपेन्द्र अधिकारी, कृष्ण विरही, उषानन्दी गहतराज, भुटानी कवि तुम्बेहाङ लिम्बूले पनि पालैपालो आआफ्ना कवितावाचन गरे । देवकोटा-लु सुन प्रतिष्ठान नेपालले गण्डकी साहित्य संगम पोखराको सहआयोजनामा फेवाताल किनारको नेपाल पर्यटन बोर्ड कार्यालयमा आयोजना गरेको अन्तर्राष्ट्रिय काव्य संगममा नेपाली, भारत र भुटानका ४० जना कविले रचना सुनाए ।

पोखरेली छन्दकवि नुमराज बरालको पद्य कविताबाट काव्य संगमको दैलो उघ्रिएको थियो । अधिकांश कविले उत्पीडनका कथा, राज्य व्यवस्थाका विकृति विसंगतिका कथा कवितामा सुनाए । गायक जीवन शर्माले ‘झरनाको चिसो’ बोलको गीत गाए । कवि संगीत श्रोताले पनि गीत गाएको सो कार्यक्रममा लोकगायिका हरिदेवी कोइरालाले गीति कविता गाइन् ।

कवि अभय श्रेष्ठले ‘गोली र बालक’ शीर्षकको कवितामार्फत मधेस आन्दोलनमा ज्यान गुमाएका बालकको कथा सुनाए । पत्रकार अमृत सुवेदीले मालिक शीर्षक कवितामा मजदुरी व्यथा ओकले । कवि सरस्वती प्रतीक्षाले तिब्बती शरणार्थी क्रन्दन कोट्याइन् । स्याङ्जाका चिन्तु गिरी, तनहुँका अनील श्रेष्ठ, चितवनका सुमन श्रेष्ठ, पोखराका रुद्र बराल, रमा प्रासर, सुरज उपाध्याय, बलराम तिमिल्सिना, हरिमाया भेटवाललगायतले कवितावाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले समसामयिक कविताको धार, विचार, चिन्तन गर्ने र अनुभव साट्ने उद्देश्यबाट कार्यक्रम आयोजना गरेको बताइन् । काव्य संगमको अघिल्लो दिन कविहरूले कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट अन्नपूर्ण हिमशृंखला अवलोकन गरेका थिए । काव्य संगममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले कविले समय र अवस्था चिन्न सक्नुपर्नेमा जोड दिए । ‘कविताले हामी आफैंलाई कत्तिको न्याय गर्न सकेको छ भन्ने महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘कविले पहिले आफैंलाई जाँच्नुपर्छ ।’ कवि तीर्थ श्रेष्ठले कविले लेखेका सबै कविता उत्कृष्ट नहुने बताए । काव्य संगममा कवि कृष्ण प्रसाईंको कविता कृति ‘घामको विरासत’ पनि विमोचन गरिएको थियो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one