advertiesment

भक्तपुरमा घट्दै इन्द्रजात्राका लिंगो

Yamsd-59ad7d95bfc661.08181794

भक्तपुर: काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा ठड्याइने लिंगो बर्सेनि घट्दै आएको छ । इन्द्रजात्रामा काठमाडौंको हनुमानढोका दरबार परिसरमा एउटैमात्रै ठूलो लिंगो ठड्याइन्छ। भक्तपुरमा भने मल्लकालीन २४ टोलमा २४ वटै लिंगो ठड्याइने परम्परा रहेको छ । कुनै टोलमा दुइटासम्म लिंगो ठड्याइन्छन्।तर पछिल्लो समय भक्तपुरका १५ वटा टोलमात्रै लिंगो ठड्याइएको छ । जसअनुसार आइतबार भक्तपुरका १५ टोलमा १६ वटा लिंगो ठड्याइएका छन्।

भक्तपुर नगरको मुटुमा रहेको सुकुलढोकास्थित दहीविनायक परिसरमा भने दुइटा लिंगो ठड्याइएको हो । यस वर्ष भक्तपुरको सूर्यमढी, तौलाछें, जेंला, वाचुटोल, सुकुलढोका, गःहिटी, बोलाछें, तालाक्व, नासमना, वंशगोपाल, तेखापुखु, इताछें, खौमा, तुछिमला र नागपोखरीमा मात्रै लिंगो ठड्याइएका छन्।
गत वर्ष ठड्याइएको महालक्ष्मीस्थान र गोल्मढीमा भने यस वर्ष इन्द्रजात्राको लिंगो ठडिएन। त्यस्तै त्रिपुरासुन्दरी र चोछें टोलमा भने विगत आठ÷नौ वर्षदेखि इन्द्रजात्राको लिंगो ठड्याइन छोडिएको संस्कृतिविद् ओमप्रसाद धौभडेलले जानकारी दिए।

‘इन्द्रजात्राअन्तर्गत भक्तपुरमा मल्लकालीन मुख्य २४ टोलमा लिंगो ठड्याइन्थ्यो’, उनले भने, ‘तर घट्दा घट्दा यस वर्ष १५ टोलमा मात्रै लिंगो ठड्याइएको छ।’

उनका अनुसार इन्द्रजात्राको क्रममा उक्त लिंगो ठड्याउन व्यवस्था गरिएको जग्गाजमिन रैतानीमा परिणत हुँदा जात्रा रोकिन पुगेको हो।’गुठी व्यवस्था गरिएका ठाउँमा अहिलेसम्म लिंगो ठडिँदै आएका छन्’, उनी थप्छन्, ‘तर व्यक्तिगत रुपमा दत्त राखिएका जग्गाजमिन रैतानीमा परिणत हुँदा लिंगो ठडिन पाएको छैन।’

स्थानीय बुढापाकाहरुका अनुसार इन्द्रजात्राको दिन ठड्याउने उक्त लिंगोलाई दैनिक रुपमा बिहान पूजासँगै बेलुका आरती गर्नुपर्छ। जसको लागि गुठी तथा जग्गाजमिनको व्यवस्था गरिएको थियो।

कति टोलमा स्थानीय धनीमानी व्यक्तिहरुले उक्त लिंगो ठड्याउने जिम्मा लिएर जग्गको व्यवस्था गरिएको थियो तर त्यसका छोरानातिले उक्त जग्गा बेचेपछि पूजाआजा हुन नसक्ने भएपछि लिंगो ठडिन रोकिएको उनीहरु बताउँछन्।

काठमाडौंमा इन्द्र, भक्तपुरमा जयन्त
यसरी ठड्याइने लिंगोलाई नेपालभाषामा यमद्यः भनिन्छ। काठमाडौंमा ठड्याइने बडेमानको यमद्यःलाई इन्द्र देवताको प्रतीक मानिन्छ तर भक्तपुरमा भने इन्द्रको छोरा जयन्तको प्रतीक मानिन्छ।

इन्द्रजात्रासम्बँधी किम्बदन्तीअनुसार इन्द्रका आमा बसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न पारिजात र बिमिरो आवश्यक पर्छ। स्वर्गमा यी चिज नपाइने भएपछि आफ्ना नाति जयन्तलाई मत्र्यलोकबाट पारिजात र बिमिरो ल्याउन भनिन्छ।

मत्र्यलोकमा आएको जयन्तले कसैसँग नसोधी पारिजातको फूल टिप्छ। उनले पारिजात टिपेको देखेकाले जयन्तलाई समाउँछ।

त्यसबेला मत्र्यलोकमा राजा राक्षसराज मूपात्र हुन्छन् । जसले गर्दा इन्द्रका छोरा जयन्तलाई मूपात्रकहाँ पुर्‍याइन्छ। उनले आफ्नो राज्यको पारिजात फूल चोरेको भन्दै सजायस्वरुप जयन्तको हात काटिदिन्छ र चोकमा सबैले देख्ने गरी पाता कसेर राख्छ।

त्यही पाता कसेर राखेको प्रतीकस्वरुप भक्तपुरका टोल टोलमा यमद्यः ठड्याइँदै आएको संस्कृतिविद् धौभडेले बताउँछन् । यसरी ठड्याइएका यमद्यःको सुरक्षास्वरुप स्थानीय बासिन्दाले जनै पूर्णिमाको दिन आफ्नो हातमा बाँधेको डोरा उक्त लिंगोमा बाँधिदिने प्रचलन रहेको छ।

‘जनैपूर्णिमामा आफ्नो सुरक्षा गर्न लगाएको डोरा इन्द्रजात्राको दिन टोलटोलमा ठड्याइने यमद्यःको सुरक्षा खातिर बाँधिदिने प्रचलन अहिलेसम्म रहँदै आएको छ’, उनले थपे, ‘यसबेला एक टोलको व्यक्ति अर्को टोलमा गएर त्यहाँको यमद्यःमा डोरा बाँध्न गए ‘तिम्रो टोलमा इन्द्र जात्रा छैन’ भनी बेइज्जत गर्ने गरिन्छ । त्यसैले पहिले पहिले भक्तपुरमा इन्द्रजात्राको दिन यमद्यः ठड्याउनुलाई टोलको प्रतिष्ठा र इज्जतसँग गाँसिएको थियो ।’

जयन्तलाई छुटाउन ऐरावत आउनु नै पुलुकिसी जात्रा
मूपात्रको कैदमा रहेको उनै जयन्तलाई छुटाउन इन्द्रले सलाँ गणेश, छुमा गणेश र मसान भैरवलाई पृथ्वीलोकमा पठाउँछन्। तैपनि मूपात्रसँग उनीहरु पराजित हुन्छन्।

त्यसपछि इन्द्रले आफ्नो बहान ऐरावत हात्तीलाई जयन्त छुटाउन पठाउँछन् । सोही ऐरावत हात्तीले जयन्त छुटाएर लगेको सन्दर्भमा भक्तपुरमा इन्द्रजात्राको चौथो दिन पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मी धौभडेल बताउँछन्।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one