advertiesment

भारतीय करले नेपाली अदुवा निर्यात रोकियो

ginger-597ab1c1ab8008.08624496

काठमाडौं : भारत सरकारले गत सातादेखि लागू गरेको गुड्स एन्ड सर्विस ट्याक्स (जीएसटी) का कारण नेपाली अदुवा निर्यात प्रभावित भएको छ । भारतले केही साताअघि जीएसटीअन्तर्गत स्वदेशी उत्पादन निर्यात र अन्य मुलुकबाट आयात हुने कृषिजन्य वस्तुमा समान भन्सार शुल्क लागू गरेपछि निर्यात प्रभावित भएको हो । भारतले जीएसटीअन्तर्गत कृषिजन्य वस्तुको निर्यातमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यसअघि यो शुल्क एक प्रतिशत थियो ।

भारतीय नीतिका कारण काँचो माउ अदुवा निर्यात ठप्प भएको छ । अर्बौं रुपैयाँ मूल्य बराबरको अदुवा किसानको खेत र भन्सार नाकामा थन्किएको छ । पाँच करोड मूल्य बराबरको १५ ट्रक अदुवा भारतको नक्सलवाडीमा कुहिएर नष्ट भएको छ । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले भारतले लगाएको जीएसटीका कारण नेपाली किसानसँगै व्यवसायी र निर्यातकर्ता मारमा परेको जानकारी दिए ।

संघका अनुसार जीएसटी लागू भएपछि हाल काँकडभिट्टा नाकाबाट थोरै परिमाणमा काँचो अदुवा भारत निर्यात भइरहेको छ । वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकाबाट भने अदुवा निर्यात ठप्प छ । खड्काले भने, ‘काँकडभिट्टा नाकामा करिब एक सातादेखि रोकिएको ९० ट्रकमध्ये १५ ट्रकको अदुवा कुहिएर नष्ट भयो । बाँकी अदुवालाई नष्ट हुन नदिन भारतका भन्सार एजेन्टसँगको सहकार्यमा अस्थायी प्रक्रियामार्फत दैनिक १० देखि १२ ट्रक पठाउने व्यवस्था मिलाइएका छौं ।’

भारतीय नीतिका कारण काँचो माउ अदुवा निर्यात ठप्प भएको छ । अर्बौं रुपैयाँ मूल्य बराबरको अदुवा किसानको खेत र भन्सार नाकामा थन्किएको छ ।
नेपाली अदुवा किसान यतिखेर दुई प्रकारका समस्याबाट मारमा परेका छन् । पहिलो जीएसटी र दोस्रो, जीएसटी लागू भएपछि नेपाली उत्पादक र व्यवसायीबाट खरिद गर्ने भारतीय एजेन्टले जीएसटी कोड नलिनु । ‘हामीबाट खरिद गर्ने भारतीय एजेन्टले पनि जीएसटी कोड प्राप्त नगरेकाले अदुवा थन्क्याउन बाध्य भएका छौं’, खड्काले भने । अवरोधका कारण पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्थुम, धनकुटा, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा, मकवानपुर, नवलपरासी, धादिङ, नुवाकोट, रसुवा, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, सल्यान र कैलालीलगायत जिल्लामा उत्पादन भएको माउ अदुवा निर्यात भएको छैन ।

अदुवा, अलैंची, अम्लिसो उत्पादनकर्ता किसान र व्यवसायीले भारतले सकेसम्म कृषिजन्य वस्तुको निर्यातमा लगाएको ५ प्रतिशत जीएसटी हटाइदिनुपर्ने माग गरेका छन् । ‘एक त मूल्य छैन्’, अध्यक्ष खड्काले भने,‘मूल्य कम भएको अवस्थामा ५ प्रतिशत जीएसटी प्रक्रिया पूरा गर्दा नेपाली किसानले आत्महत्या गर्ने अवस्था सिर्जना हुन्छ । लागत उत्पादनभन्दा भन्सार शुल्क नै बढी पर्छ।’

उनका अनुसार जीएसटी समस्याका कारण अधिकांश किसानले खेतमै अदुवा थन्क्याएका छन् । भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कृषि उपजसम्बन्धी पटकपटक आइरहने समस्यालाई प्रमुख एजेन्डाका रूपमा भारतीय पक्षसमक्ष राख्नुपर्ने व्यवसायी र किसानले सुझाव दिएका छन् ।
प्रधानमन्त्री देउवाले भदौमा भारत भ्रमण गर्ने तयारी गरेका छन् ।संघको तथ्यांकअनुसार समयमा निर्यात नहुने हो भने पूर्वी जिल्लाका किसानको ५७ करोड ६० लाखभन्दा बढी मूल्यको अदुवा खेर जाने निश्चित छ । बजारमा काँचो अदुवाको मूल्य प्रतिकिलो ३२ रुपैयाँ छ । अन्य जिल्लाको उत्पादनलाई जोड्ने हो भने अर्बौ मूल्य बराबरको अदुवा थन्किएको छ । नेपालबाट भारत निर्यात गर्ने ठूला व्यवसायीले पनि अदुवा उठाएर गोदाममै थन्क्याएका छन् ।

वाणिज्य मन्त्रालयका प्रवक्ता रवीशंकर सैंजुले अदुवा निर्यात समस्या समाधानका लागि भारतीय दूतावासलाई पत्राचार गरिएको जानकारी दिए । ‘भारतले हालै लागू गरेको जीएसटी र भारतीय एजेन्टले जीएसटी कोड नलिएका कारण निर्यातमा समस्या देखिएको हो’, सैजुले भने,‘यस विषयमा भारतीय दूतावासलाई जानकारी गराइसकिएको छ ।’

अदुवा व्यवसायी गोविन्द पौडेलका अनुसार असारदेखि भदौसम्म खेतबाट माउ अदुवा निकाल्ने समय हो । असोजदेखि ‘बच्चा’ अदुवा उत्पादन हुन्छ । गत वर्ष पनि यही समयमा भारतले नेपालको अदुवामा मिसावट र विषादी भेटिएको बहानामा तीन महिनासम्म निर्यातमा रोक लगाएको थियो । सन् २००१ मै नेपालमा प्रतिबन्ध लगाइएको अल्दीकार्र्ब नामक विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै भारतले तत्कालीन समयमा निर्यातमा रोक लगाएको थियो । तर, पछि नेपाली अदुवामा विषादी नभेटिएको पुष्टि गरेपछि अदुवाको निर्यात भएको थियो ।

नेपालमा उत्पादन हुने करिब ९५ प्रतिशत अदुवा भारत निर्यात हुन्छ । केही परिमाणमा चनि, फ्रान्स, स्विट्जरल्यान्ड, जापान र युक्रेन पनि निर्यात हुन्छ । नेपालका विभिन्न जिल्लामा गरी २३ हजार आठ सय २६ हेक्टरमा अदुवाखेती हुन्छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one