advertiesment

यू–१९ विश्वकप छनोट : सन्दिपको गुगलीमा घुम्यो सिंगापुर

nepali_cricket_u-19-596d62160e78a4.97262390

काठमाडौं : कप्तान सन्दिप लामिछानेको उत्कृष्ट गुगली बलिङसँगै नेपालले सोमबारबाट सिंगापुरमा सुरु भएको यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोट खेलमा विजयी सुरुआत गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक सिंगापुरलाई चार विकेटले हरायो । जितसँगै नेपाल चार टोली सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा छ । सोमबारकै खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको अफगानिस्तान तालिकाको शीर्ष स्थानमा छ ।

पादाङस्थित सिंगापुर क्रिकेट क्लबको मैदानमा टस जिती पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सिंगापुरलाई २९ ओभरमा ७३ रनको झिनो योगफलमै रोकेको थियो । यद्यपि ब्याटिङमा सोचेजस्तो प्रदर्शन गर्न नसक्दा सहज मानिएको लक्ष्य पार गर्न पनि नेपाललाई केही कठिन भयो । नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर जित पक्का गरेको थियो ।

नेपाललाई विजयी बनाउन ब्याटिङतर्फ प्रनित थापामगरले २३ रनको योगदान गरे भने बलिङतर्फ कप्तान सन्दिप एक्लैले पाँच विकेट लिए । तेस्रो क्रममा ब्याटिङका लागि क्रिजमा ओर्लिएका प्रनितले २६ बलमा तीन चौका प्रहार गरेका थिए । त्यसअघि सुरुआती ब्याट्सम्यान सन्दिप सुनार एक र आसिफ सेख चार रनमा आउट भएका थिए । अर्का भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि चार रनमै पेभेलियन फर्किएपछि नेपाल दबाबमा देखिएको थियो ।

यद्यपि प्रनितले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए । प्रनितले तेस्रो विकेटका लागि दीपेन्द्रसँग २२ रनको साझेदारी गरे । प्रनितबाहेक नेपालका लागि अनिल शाहले १९ र रोहितकुमार पौडेलले अविजित ११ रनको योगदान गरे । अनिलले तीन र रोहितले एक चौका प्रहार गरेका थिए । विकेटकिपर ब्याट्सम्यान प्रकाश केसी ६ रनमा आउट भए भने पवन सर्राफ चार रनमा अविजित रहे ।

त्यसअघि कप्तान सन्दिपसँगै साहब आलम र किशोर महतोले सशक्त बलिङ प्रदर्शन गरेपछि सिंगापुरलाई झिनो योगफलमै समेटिएको थियो । सन्दिपले सुरुआती क्रमका पाँच ब्याट्सम्यानलाई एकपछि अर्काे गर्दै पेभेलियन फर्काएका थिए । साहबले तीन र किशोरले दुई विकेट लिए । किशोरले एक सुरुआती र अर्का जमेका ब्याट्सम्यानलाई आउट गराए । किशोरले पाँचौं ओभरको अन्तिम बलमा १६ बल खेलिसकेका सिंगापुरका सुरुआती ब्याट्सम्यान रोहन रंगराजनलाई शून्य रनमै आउट गराएका थिए । त्यसपछि ११ रन बनाएर खेलिरहेका अर्का सुरुआती ब्याट्सम्यान सिन अग्रवालको विकेट सन्दिपले लिए।

यसैगरी तेस्रो क्रमका ब्याट्सम्यान युवराज सिंहलाई दुई रनमै आउट गराउँदै साहबले नेपाललाई तेस्रो सफलता दिलाए । त्यसपछिका लगातार चार ब्याट्सम्यानलाई दोहोरो अंकमा रन जोड्नुअघि नै सन्दिपले एकपछि अर्काे गर्दै पभेलियनको बाटो देखाएपछि नेपालले खेलमा बलियो पकड बनायो । यद्यपि क्रिजमा लामो समय टिकेर ब्याटिङ गरिरहेका आठौं क्रमका ब्याट्सम्यान बिगु इयरले सिंगापुरको पालि अघि बढाउने प्रयास गरेका थिए । ३९ बलमा एक छक्का र ६ चौकासहित ४२ रन जोडेको अवस्थामा बिगुलाई किशोरले बोल्ड गराएपछि नेपाल फेरि खेलमा हाबी भएको थियो ।

अन्य ब्याट्सम्यानले सिंगापुरका लागि दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका सुनिल आर्यमान र गोपीनाथ आचारले नेपालको दुई/दुई विकेट लिए ।अर्काे खेलमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तानले मलेसियाविरुद्ध सहज जित हात पार्‍यो । टस हारी पहिले ब्याटिङ गरेको मलेसिया २१.५ ओभरमा ५३ रनमै समेटिन पुगेको थियो । जवाफमा अफगानिस्तानले ५.४ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पार गर्‍यो । अफगानिस्तानको जितमा युसुफ जजाईले चार र मुजिबले तीन विकेट लिए । ब्याटिङतर्फ अफगानिस्तानका डारविस रसुलीले १८ बलमा अविजित ३२ रनको योगदान गरे । मंगलबार नेपालले मलेसियासँग र अफगानिस्तानले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one