advertiesment

सम्पदा पुुनर्निर्माण कछुवा गतिमा

RaniPokhari---two-year-after-earthquake-Uma-Bista-58fec85985d5c4.83901408

काठमाडौं: भूकम्प गएको दुुई वर्ष पुुग्दा पनि सम्पदा पुुनर्निर्माणले गति लिन सकेको छैन । युुनेस्कोले सम्पदा पुुनर्निर्माण अत्यन्त ढिलो भएको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिए पनि सरकारले गति बढाउन सकेको छैन । पुुरातत्व विभागले सम्पदा पुुनर्निर्माणमा करिब २० अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरे पनि दुुई वर्षमा ५० करोड पनि खर्च हुुन सकेको छैन।

पुरातत्वविद् विष्णुराज कार्कीले दुई वर्ष बितिसक्दा सम्पदा पुनर्निर्माण १० प्रतिशत पनि हुन नसकेको बताउनुभएको छ । उहाँले सोमबार भन्नुभयो, ‘पाँच वर्षभित्र सक्ने लक्ष्य लिएको पुनर्निर्माणको गति कछुवाको जस्तै छ । यसरी नै काम ढिलो गर्दै गए पुरातात्विक सम्पदाको वास्तविक रूप गुम्ने जोखिम धेरै छ ।’

सरकारले भूकम्पपछि सम्झौता गरी गरेका सबै पुरातात्विक पुनर्निर्माणविपरीत दिशामा गइरहेको उहाँको भनाइ छ । ‘पुनर्निर्माण भइरहेका ८० प्रतिशत काम पुरातात्विक ऐन र सिद्धान्तविपरीत छन् । यसरी काम गर्दा भोलिका पुस्ताले सम्पदाको वास्तविक स्वरूप देख्न पाउने छैनन्’, सरकार सम्पदाप्रति संवेदनशील नदेखिएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘हनुमानढोका बेहाल अवस्थामा छ । नुवाकोटको अवस्था विरक्तलाग्दो छ । अनुसन्धान गर्न समय लाग्ने हो तर सरकार उदासीन छ । निषेधित विषयलाई ख्याल गरिएको छैन ।’ रानीपोखरीको पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गरेर ऐनविपरीत आकार घटाउने काम भएको र भोलिका दिनमा पानी सुक्ने अवस्था सिर्जना गरिएको उहाँको भनाइ छ ।

विश्वभरका हिन्दु धर्मावलम्बीको चासोको विषय पशुपतिनाथ मन्दिर आसपासका सम्पदा र विश्वभरकै पर्यटकको चासोको विषय धरहराको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट स्वीकृत गरेका पशुपति क्षेत्रका २१ योजना पुनर्निर्माणको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषले दुई वर्ष बित्दा ८ वटा योजनाको मात्रै सम्झौता गरेको छ । दाताहरू परिचालन गरिरहेको जानकारी दिँदै कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले भन्नुभयो, ‘गत वर्ष बजेट नै पाएनौं । चालु आर्थिक वर्षका लागि असोजमा मात्रै पायौं । कामको प्रक्रिया अत्यन्तै लामो छ ।’

पुरातत्व विभागले केज कन्सल्ट्यान्टलाई दिएको डीपीआरको जिम्मा पटक–पटकको संशोधनपछि बल्ल तयार भएको छ। ‘विभागले यसै साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउँछ र मन्त्रालयले नेपाल टेलिकमसँग निर्माण सम्झौता गर्नेछ’, विभागका महानिर्देशक भेषनारायण दाहाल भन्नुहुन्छ, ‘धरहरा परिसरका टक्सार विभाग र हुलाक सेवा विभागसमेत गरी ४२ रोपनी जग्गा सरकारको मातहतमा ल्याएका छौं ।’ सोभेनियर सप, पार्किङ, अन्डरग्राउन्डसहित २ सय ४५ फिट अग्लो अत्याधुनिक धरहरा निर्माण गर्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

विभागले रानीपोखरीको पुनर्निर्माणका लागि कार्यादेश दिइसकेको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरका लागि ११ करोड लाग्ने अनुमान छ । ड्रइङ, डिजाइन भएर विभागको पूर्वस्वीकृति लिएर काठमाडौं महानगरपालिकाले आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण गरेपछिको व्यापक विरोध हुँदा विभागले नै काम रोकेको थियो । दाहालका अनुसार विभागले पुरानै ढाँचा रहने गरी ड्रइङ, डिजाइन बनाएको र आउँदो सातादेखि उक्त मन्दिरको काम थाल्नेछ ।

सिंहदरबारभित्र र बाहिरका राणाकालीन दरबारको पनि पुनर्निर्माण हुन सकेको छैन । सिंहदरबारको पश्चिम लङ के गर्ने भन्नेमा स्ट्रक्चरल इन्जिनियर हरिप्रसाद पराजुलीको संयोजकत्वमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, पुरातत्व विभागका महानिर्देशक र विज्ञ सदस्य रहेको अध्ययन टोली गठन गरेको थियो । टोलीले हालै रेट्रोफिटिङ गर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारभित्रकै ग्यालरी बैठकलाई तत्काल भत्काइहाल्नु नपर्ने निष्कर्ष टोलीको छ । अर्को विज्ञको टोलीले पनि केशरमहललाई रेट्रोफिटिङ गरे हुने निष्कर्ष निकालेको छ । विभागप्रमुख दाहालले रेट्रोफिटिङ गरेर भए पनि ऐतिहासिक महत्वका पुरातात्विक राणाकालीन दरबार जोगाउन विभाग कटिबद्ध रहेको बताउनुभयो ।

१२ औं शताब्दीमा निर्मित काष्ठमण्डपको विभागले दुई सिजन अर्थात् दुई वर्ष लगाएर गरेको उत्खननमा दोस्रो शताब्दीसम्म खेती हुने ठाउँ भेटिएको र सातौं शताब्दीमा निर्माण पुष्टि भएको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले काष्ठमण्डप, माजुदेगल र कुमारी घर बनाउने, गुठी संस्थानले हनुमानढोका दरबार र परिसरमा रहेका अन्य सम्पदा दातृ निकायले बनाउने गरी सहमति भइसकेको छ ।’ अमेरिकी एम्बास्डर फन्डअन्तर्गत बनाइने गद्दी बैठकका लागि ७ करोड रुपैयाँ लाग्ने अनुमान छ । यसको पुनर्निर्माण दुई वर्षभित्र गरिसक्ने लक्ष्य छ ।

९ तले दरबार चीन सरकारले बनाउने भनी सम्झौता भएको छ । ड्रइङ र डिजाइनको सबै काम सकिएर अन्तिम प्रक्रियामा रहेकाले जेठदेखि निर्माण थालिने विभागको भनाइ छ । स्थानीयका साथै दातृ निकाय परिचालन गरी निजी क्षेत्रले पहिलो सम्पदा पुनर्निर्माणका रूपमा गत मंसिरमै बौद्ध स्तुपाको काम सकेको थियो ।

पाटनमा योगनरेन्द्र मल्लको सालिक राखिसकिएको छ भने उक्त सालिक रहेको सुन्दरी चोकको संरक्षण गर्ने काम पनि सकिएको छ । ललितपुरकै तलेजु मन्दिरको संरक्षण कार्य पनि हालै सम्पन्न भएको विभागको भनाइ छ । कृष्ण मन्दिरको माथिल्लो तला संरक्षण हुँदै छ जुन काम असारभित्रै सक्ने लक्ष्य छ । भक्तपुरमा उपत्यकाका अन्य दुई जिल्लाभन्दा बढी काम भएको विभागको ठहर छ । भक्तपुर नगरपालिकासँग सम्झौता गरी काम गरिएकाले केही छिटो भएको जानकारी दिँदै दाहालले भन्नुभयो, ‘चाँगुनारायणको रेट्रोफिटिङ यसै आर्थिक वर्षभित्र सकिनेछ । स्वयम्भूछेउका अनन्तपुर यसै आवमा र प्रतापपुरको निर्माण अर्को आवभित्र सकिनेछन् ।’

गत आवमा विभागका ४८ वटा योजना स्वीकृत भएका थिए भने चालु आवसम्म गरी १ सय ३२ वटा काम हुँदै छन् जसमध्ये ५७ वटा बहुवर्षीय योजना छन् । गत र चालु आव गरी ५० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिँदै महानिर्देशक दाहालले भन्नुभयो, ‘दुई अर्ब माग्दा प्राधिकरणले ५० करोड दिएको छ, काम ढिलो भयो भनेर युनेस्कोले खतराको सूचीमा राख्ने भनिसकेको छ । दुईपटक विश्वास दिलाएर आएँ, काम देखाउन नसकेपछि कतिपटक भन्नु ? ’
प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले विभागलाई दिएको ५० करोड पनि दुई वर्षमा ४२ प्रतिशत मात्र खर्च भएको बताउनुभयो । ‘आव सकिन तीन महिना छैन, आधाभन्दा बढी बजेट छ । सम्पदा पुनर्निर्माणमा बजेट समस्या होइन’, उहाँले भन्नुभयो, ‘जर्मन सरकारले भक्तपुरका सम्पदालाई साढे ३ अर्ब, भारतले दुई साताभित्रै ऋण र अनुदान गरी १० अर्बसहित १५ अर्बको सुनिश्चितता भइसकेको छ । सरकारले आगामी आवमा पनि बजेट विनियोजन गर्दै छ ।’ मुलुकभर साढे ७ सय गुम्बा पनि पुनर्निर्माण गर्नुपर्ने सूचीमा छन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one