advertiesment

सरकारले बनाउँने भो सुँगुर र बंगुरको पार्क

bangur-park-58feac3d9d2643.39345823

काठमाडौं : नेपालमा अब सँगुर र बंगुरको पनि पार्क निर्माण हुने भएको छ । पशुपंछी मन्त्रालयले झापा र कास्की जिल्लामा सुँगुर र बंगुरसम्बन्धी पार्क निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सरकारी-निजी साझेदारी अवधारणाअन्तर्गत ती दुई जिल्लामा पार्क निर्माण गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बंगुरको स्वच्छ र स्वस्थ्य मासु उत्पादन गरी स्वदेशको माग पूरा गरी निर्यात गर्न पार्क निर्माण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

उद्योगको औद्योगिक क्षेत्रजस्तै सुँगुर र बंगुरको औद्योगिक पार्क निर्माण गर्न लागिएको हो । पार्क निर्माणका लागि चालू आर्थिक वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दुईवटा पार्क निर्माण गर्न १० करोड रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ । पौडेलले भन्नुभयो, ‘अन्य उद्योगको औद्योगिक क्षेत्रको मोडेलजस्तै बंगुरपालन र मासु प्रशोधन गर्ने गरी बंगुरपार्क स्थापना गर्न कार्यविधिसमेत निर्माण भइसकेको छ ।’

केन्द्रीय बंगुर कुखुरा प्रवद्र्धन कार्यक्रमका प्रमुख छबिलाल अधिकारीका अनुसार वस्ती र समाजिक संरचनाभन्दा टाढा निर्माण गरिने यस्तो बंगुरपार्कका लागि कम्तीमा ६० रोपनी जग्गा आवश्यकपर्ने मापदण्ड तोकिएको छ । चारैतर्फ पर्खाल निर्माण गरी पर्खालभित्रको क्षेत्रमा आधुनिक प्रविधिसहितको बच्चा उत्पादन गर्ने ह्याचरी, बच्चा हुर्काउने, वयस्क बंगुरपालन, खोर निर्माण, दाना बनाउने उद्योग, बद्यशाला, मासु उत्पादन, प्याकेजिङ बिक्री केन्द्र र औषधिसहित भेटेरिनरी चिकित्सकसम्मको सुविधा हुनेछ।

यस्तो पार्कमा किसान व्यावसायिक र एकीकृत रूपमा बंगुरसम्बन्धी काम गर्न पाउनेछ । ‘फोहोर खानेकुरा खुवाउने र फोहोरमै राखेर पाल्ने प्रवृतिका कारण नेपालमा बंगुरपालन र बंगुरको मासु उपभोग गर्नुलाई सकारात्मक रूपमा लिइँदैन’, अधिकारीले भन्नुभयो ,’स्वच्छ र गुणस्तरयुक्त बंगुरको मासु उत्पादन गरी स्वदेशको माग पूरा गरी विभिन्न मुलुकमा निर्यात गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।’

पार्क निर्माणका लागि झापाबाट तीन र कास्कीबाट एक गरी चारवटा प्रस्ताव मन्त्रालयमा आइपुगेको छ । मूल्यांकन समितिले उक्त चारमध्ये झापाका लागि एक र कास्कीका लागि एक प्रस्ताव छनोट गरी यही वर्षमा पार्कको निर्माण कार्य सुरु गर्ने जनाएको छ । पार्क निर्माणमा खर्च हुने कुल रकममध्ये ७० प्रतिशत सरकारले र बाँकी ३० प्रतिशत किसानले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

अधिकारीका अनुसार पार्कमार्फत उत्पादन हुने बंगुरको मासु भुटानमा निर्यात गर्ने तयारी छ । यसबाहेक नेपाली बंगुरको मासु छिमेकी मुलुक चीन र भारतमा पनि माग छ । झापा, बाँके, बर्दिया, कैलाली, कास्की, सुनसरी, धनकुटालगायतका जिल्ला व्यावसायिक बंगुरपालनका लागि पकेट क्षेत्र मानिन्छन् । यस्ता जिल्लामा चोंचे, जंगली बँदेल, हुर्रा, बामपुड्के, पाख्रीबास, पिग्मी बँदेल, धराने कालो बंगुरलगायतका स्थानीय जात पालिएको छ ।

पछिल्लो समयमा ल्यान्डरेस, योर्कसायर, ह्याम्पसायर, टेमवर्थ, ड्युरोक, मेगसान वा नागपुरीलगायत उन्नत जातका बंगुर पाल्न थालिएको छ । नेपालमा करिब नौ अर्ब मूल्य बराबरको २३ हजार मेट्रिक टन बंगुरको मासु उत्पादन हुन्छ । नेपालमा १२ लाख ९० हजार गोटा बंगुर छ । काठमाडौंमा चार सय रुपैयाँ प्रतिकिलो बंगुरको मासु बिक्री हुन्छ

१५ जिल्लामा व्यावसायिक पालन
गुणस्तरयुक्त बंगुरको मासु उत्पादन गर्न सरकारले १५ जिल्लामा पिग र पोर्क सुधार राष्ट्रिय अभियान कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । झापा, सुनसरी, धनकुट्टा, चितवन, काभ्रे, मकवानपुर, तनहुँ, कास्की, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली र कञ्चनपुरमा यो कार्यक्रम सञ्चालन गरिएको छ।
पाँच वर्षे उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्ष दुई करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कार्यक्रमअन्तर्गत बंगुर फार्म सुधार, मासुको गुणस्तर सुधार, उत्पादनमा वृद्धि, उपकरण, खोरको स्तरोन्नतिलगायत सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one