advertiesment

साढे पाँच सय कर्मचारी सरूवा

samanne prasasan

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँच सय कर्मचारीलाई सरूवा गरेको छ । सरूवा गरिएका कर्मचारीमध्ये केही कर्मचारीसम्बद्ध संस्थाका पदाधिकारीसमेत छन् । करिब साढे पाँच सय कर्मचारीलाई बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा सरूवा गरिएको सामान्यले जनाएको छ । जसमध्ये करिब सय कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सय कर्मचारीलाई स्थानीय तहमा सरूवा गरिएको हो।

मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १ सय ५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरूवा गरेको छ । यसैगरी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १ सय ६ प्राविधिक कर्मचारीलाई पनि स्थानीय तहमा सरूवा गरिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख तथा उपसचिव प्रेम लुइँटेलले बिहीबारको कर्मचारी सरुवाबाट प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव धेरैहदसम्म कम हुने बताए । उनले भने, ‘अब स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगिसकेको छ ।’ ओएनएम सर्भे रिपोर्टअनुसार ७ सय ५३ स्थानीय तहमा तत्कालका लागि करिब ५७ हजार कर्मचारी आवश्यक छ । उपसचिव लुइँटेलले ७ सय ५३ वटै स्थानीय तहमा एक स्थानीय तहबराबर कम्तीमा एक प्राविधिक कर्मचारी पठाउने सरकारको नीतिअन्तर्गत यसपटक ठूलो संख्यामा प्राविधिक कर्मचारी पठाइएको जनाए।

मन्त्रालयले बिहीबार नै प्रशासन सेवाका करिब १ सय ५० कर्मचारीलाई विभिन्न स्थानीय तहमा खटाएको छ । ती कर्मचारी श्रम, भूमि व्यवस्था, हुलाक, गृहअन्तर्गतका कार्यालयबाट खटाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा खटाइएका केही कर्मचारी फाजिलमा परेका र ओएनएम सर्भेपछि विभाग कटौती हुँदा पदस्थापन हुन नसकेका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । बिहीबार स्थानान्तरण गरिएका सबै कर्मचारी काजमा खटाइएका हुन् । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुन नसक्दा सरकारले प्रदेश र स्थानीय तहमा डेढ वर्षयता काजमै कर्मचारी पठाउने गरेको छ । संघीय निजामती सेवा ऐन २०७५ पास नहुँदा कर्मचारी समायोजन गर्न कानुनी रूपमा कठिन छ । सामान्यले आगामी पुससम्म कर्मचारी समायोजन भइसक्ने जनाएको छ।

कर्मचारी युनियनका पदाधिकारी पनि सरूवामा
सरकारले कर्मचारी युनियनका पदाधिकारीलाई पनि बिहीबार स्थानीय तहमा सरूवा गरेको छ । नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपमहासचिव यज्ञराज अर्याललाई श्रम मन्त्रालयबाट पर्साको स्थानीय तहमा खटाइएको छ। यसैगरी कर्मचारी युनियन (संघ) का केन्द्रीय सदस्यद्वय आनन्द विष्ट र पेसल कोइरालालाई पनि सरूवा गरेको छ । विष्टलाई काठमाडौंबाट नुवाकोट र कोइरालालाई काठमाडौंबाट उदयपुर सरुवा गरिएको छ । युनियनका केन्द्रीय महासचिव सुभाष कोइरालाले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरूवा गरिएको आरोप लगाए । उनले भने, ‘सरकारले कुनै मापदण्ड र आधार नबनाई राजनीतिक आस्थाका आधारमा कर्मचारी सरूवा गरेको छ । यसमा हाम्रो विरोध छ ।’ मन्त्रालयले भने आधिकारिक ट्रेड युनियनबाहेक अन्य सबै संगठनमा आबद्ध कर्मचारीलाई स्थानीय तहमा पठाउने सरकारको नीति रहेको जनाएको छ । यद्यपि उपसचिव लुइँटेलले सरुवामा कर्मचारी युनियन ÷संगठनका केन्द्रीय पदाधिकारी परेका भए संशोधन हुनसक्ने बताए।

प्राविधिक कर्मचारीको अभाव
सरकारले बिहीबार एकैपटक करिब ४ सय प्राविधिक कर्मचारी सरूवा गरे पनि अधिकांश स्थानीय तहमा अझै पनि प्राविधिक कर्मचारीको अभाव पूर्ति भएको छैन । स्थानीय तहमा प्राविधिक कर्मचारीको अभाव भएको गुनासो आउने गरेको मन्त्रालयले जनाएको छ । प्राविधिक कर्मचारी तथा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष साधुशरण पूर्वेले सरकारको नीतिका कारण प्राविधिक कर्मचारीको अभाव बढ्दै गएको बताए । उनले भने, ‘प्राविधिक कर्मचारीको अभाव हुन नदिन सरकारले नीतिमा नै परिर्वतन गर्नुपर्छ । प्राविधिक क्षेत्रमा प्रोत्साहित हुनेगरी नीति बनाउनुपर्छ ।’ सरकारले एउटा वडामा कम्तीमा एक प्राविधिक कर्मचारी पु-याउने नीति यसअघि नै बनाएको थियो तर प्राविधिक कर्मचारीको अभाव हुँदा केही स्थानीय तहमा कम्तीमा एकजना पनि प्राविधिक कर्मचारी पुग्न सकेका छैनन्।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one