advertiesment

हिमाली दौडमा सुमन च्याम्पियन

Marathan-Winners-59dc2ccd60a734.03667469

काठमाडौं : सोलुखुम्बु महाकुलुङ- ५ का २६ वर्षीया सुमन कुलुङ यस वर्षको ‘रोयल पेन्गुइन अल्ट्रा म्याराथन’ को विजेता बनेका छन् । ११ स्वदेशी र १५ विदेशी गरी कुल २६ जना धावकले भाग लिएको उक्त म्याराथनमा सुमनले निर्धारित ६४ किलोमिटर दूरी पार गर्न सात घन्टा ३० मिनेट समय खर्चिए । प्रतियोगितामा ओखलढुंगा मोलुङ गाउँपालिका-७ का लाक्पा शेर्पा दोस्रो र सोलुखुम्बु महाकुलुङ-२ का किरण कुलुङ तेस्रो भए ।

यसैगरी महिलातर्फ सोलु दूधकोसी गाउँपालिका-१ की पूर्णिमा राई प्रथम भइन् । सन् २०१६ मा भएको म्याराथनमा समेत सहभागिता जनाएका लाक्पाले यसपटक निर्धारित दूरी आठ घन्टा २२ मिनेटमा पूरा गरे । तेस्रो हुने किरणले भने निर्धारित दूरी पूरा गर्न नौ घन्टा १७ मिनेट समय खर्चिए । महिलातर्फ पहिलो भएकी पूर्णिमाले सोही दूरी १० घन्टा ४२ मिनेटमा पार गर्दै पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । तीन हजार चार सय ४० मिटर उचाइमा रहेको नाम्चे बजारबाट सुरु भएको उक्त म्याराथन ठूलाठूला हिमाली भीर, खोच र हिमखण्ड पार गर्दै डोले, मछ्यरमो, गोक्यो हुँदै रेन्जोला पास गरेर पुनः नाम्चे बजारमै पुगेर टुंगिएको थियो ।

संसारकै उच्च क्षेत्र सगरमाथा क्षेत्रमा आयोजना हुने उक्त म्याराथनमा पछिल्ला वर्षहरूमा विदेशी सहभागिता बढ्दै गइरहेको जानकारी आयोजक संस्था रोयल पेन्गुइन अल्ट्रा म्याराथनकी व्यवस्थापन निर्देशक मिङ्मा याङ्जी शेर्पाले दिइन् । म्याराथन विजेता सुमनले फुर्सदको समयमा देशी-विदेशी पर्यटक र स्थानीयको भारी बोक्ने तथा गाइडका रूपमा काम गर्ने गरेको बताए । उनले भने, ‘मेहनत गर्‍यो भने जित सम्भव रहेछ, अबका भावी दिनहरू म बढीभन्दा बढी समय खेलकुद क्षेत्रमै खर्चिनेछु ।’

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one